१० वर्षमा फेरिएको ‘उजाड डाँडो’
गलकोट (बागलुङ) | झाडीले ढाकिन थालेको पाखो, त्यहीबीचमा उजाड डाँडो । १० वर्षअघि यस्तो पहिचान रहेको तारजालकोट क्षेत्र अचेल भव्य संरचनासहित गुल्जार बनेको छ । त्यो हो, पञ्चकोट । १० वर्षअघि कसैले पनि सोचेका थिएनन्, त्यो उजाड डाँडो धार्मिक पर्यटकीय क्षेत्र र तपोभूमि बन्ला भनेर । त्यही डाँडो हाल आकर्षक पर्यटकीय संरचनाले भरिएको छ, ती संरचना आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने आधार बनेका छन् । यो क्षेत्र बाइसेचौबिसे राजाका पालमा यस्तै आकर्षक थियो भनिन्छ तर लामो समयसम्म संरक्षणको अभावमा वन्जर बन्यो । पछिल्लो समय यही तारजालकोटसहित पाँचकोटलाई एकीकृत रूपमा पञ्चकोट बनाउने सङ्कल्प गरेका पञ्चकोटका संस्थापक एवं परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको पहलमा यो धार्मिक पर्यटकीय क्षेत्र बन्न सफल भएको हो ।
तारजालकोट भनिने उजाड डाँडा अहिले पञ्चकोटको रूपमा विश्वचर्चित बनेको बागलुङ नगरपालिका-६...



















