‘बचत फिर्ता नगर्नेलाई म दुःखीको आँशु लागोस्’
चितवन — खैरहनी नगरपालिका–१ बहेरीकी बगडी महतोले बुढेसकालमा आफूलाई राम्रो होला भनेर थोरै थोरै रकम बचत गरेर सहकारीमा राख्न थालेकी थिइन् । साहारा बहुउद्देश्यीय सहकारी संस्थाको रत्ननगर शाखामा आफूले बचत रकम जम्मा गरेको उनले बताइन् । अहिले त्यो सबै रकम खाइदिएको उनको गुनासो छ ।
एकल महिला भएका कारण उनले सामाजिक सुरक्षा भत्ता पाउँछिन् । ५३ वर्षीया उनी दैनिक निमेक–मजदुरी पनि गर्छिन् । ‘गाउँमा भोज–भतेर हुँदा रातिसम्म भाँडा माझ्ने गर्छु । खेतमा ज्याला मजदुरी गर्छु,’ उनले भनिन्, ‘भत्ताको पैसा र केही जोहो गरेको रकम सहकारीमा जम्मा गरेकी थिएँ । अहिले सबै खाइदिए ।’
बुढेसकालमा आफूलाई राम्रो होला भनेर थोरै थोरै रकम बचत गरेर सहकारीमा राख्न थालेको उनले सुनाइन् । २०७८ सालको भदौतिरबाट आफूले सहकारीमा पैसा राख्न थालेको उनको भनाइ छ । तर वर्ष दिन हुँदा नहुँदै बचत फिर्ता पाउन गाह्रो भयो । एक दिन साह्रै बिरामी भएर उप...



















