रत्ननगर । रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले रत्ननगर नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने घोषणा गरेका छन् ।
श्री आधारभूत विद्यालय बेल्सीको ५७औँ स्थापना दिवसको अवसरमा मन्तव्य राख्दै नगरपालिकाले पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा १२ कक्षासम्मको शिक्षा निःशुल्क गर्ने गरी तयारी गरेको उनले बताए ।
उनले आगामी नगरसभामा निर्णय सार्वजनिक गरिने भन्दै नगर शिक्षा ऐनमा भएको वडाध्यक्ष स्वतः विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहने प्रावधान पनि सच्याउने प्रतिबद्धता व्यक्त गरे ।
नगरप्रमुख सापकोटाले विद्यालय भर्ना, पाठ्यपुस्तक खरिद, परीक्षा शुल्क, खाजाको व्यवस्थालगायतका सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने गरी १२ कक्षासम्म निःशुल्क पढाइने घोषणा गरे ।
कार्यक्रममा सर्वोत्कृष्ट पूर्वविद्यार्थीबाट पूर्वराष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा विद्यालयका पूर्वविद्यार्थी प्रा.डा. विश्वनाथ पौडेल र सर्वोत्कृष्ट शिक्षकबाट अञ्जिता आले सम्मानित भएका छन् । उनीहरुलाई रत्ननगर नगरपालिकाका नगरप्रमुख सापकोटाले सम्मान गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक रामचन्द्र महतोले सञ्चालन गरेको कार्यक्रममा पूर्वविद्यार्थी प्रा.डा. विश्वनाथ पौडेल, पूर्वशिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, पूर्वसांसद् सावित्रीदेवी चौधरी, पूर्वविद्यार्थी तथा रत्ननगर–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।