धनुषा | उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन शुक्रबार बिहान महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत देशभरका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठको बिदाइ गरिएको हो।
पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भिड लागेको थियो। बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासनाको यो पर्वको प्रारम्भ गरेका थिए।
त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए। खर्नाका दिन दिनभरि उपवास निराहार बसेर राति षष्ठीका देवीलाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गरेका थिए। राति अरवा अरबाइन (नुन नहालेको) खानेकुरा खाएका थिए।
त्यस्तै षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाकीमा राखी छठघाटसम्म पुगेका थिए।
साँझ व्रतालुले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता फूल हालेर अन्य अर्घ्य सामग्री पालैपालो गरी अस्ताचलगामी अर्घ्य अर्पण गरेका थिए।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | हाम्रो खबर नेपाल
ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।